काठमाडौं । रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकलमा समस्या देखिएपछि फिर्ता मागेको छ । केही समय अगाडी मात्र सार्वजनिक भएको मोटरसाइकल ६५० ट्वीनलाई फिर्ता मागेको हो ।
ब्रेकमा समस्या आएपछि कम्पनीले अन्य देशमा निर्यात गरेको मोटरसाइकलसमेत फिर्ता मागेको छ । कम्पनीले भारत बाहेक अन्य देशमा बिक्री गरेको १५ हजार २०० यूनिट मोटरसाइकलमा समस्या देखिएपछि रिकल गरेको हो ।
कम्पनीले रोयल इनफिल्ड इन्टरसेप्टर ६५० र कन्टीनेन्टल जीटी ६५० को ब्रेकमा समस्या आएका कारण फिर्ता मागेको कम्पनीले जनाएको छ । युरोपीयन मुलुकहरु तथा दक्षिण कोरियमा निर्यात भएका मोटरसाइकलमा उक्त समस्या आएको हो ।
कम्पनीले डिलर मार्फत ग्राहकहरुलाई सम्पर्क गरेर उक्त समस्याको जानकारी दिएको जनाएको छ । कम्पनीले आफ्ना सर्भिस सेन्टर मार्फत उक्त समस्या हल गर्ने बताएको छ । मर्मत गरेर हुने अबस्थामा मर्मत गर्ने तथा ब्रेक नै परिर्वतन समेत गरिदिने जनाइएको हो । उक्त समस्या समाधान गर्न कुनै शुल्क नलिने समेत बताइएको छ ।
रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० नेपाली बजारमा सार्वजनिक हुने तयारीमा रहेका थियो । कोरोनाका कारण नेपालमा लकडाउन कायम रहेका कारण यो मोटरसाइकलको बिक्री समेत अन्योलमा परेको छ ।
भारतीय बजारमा बीएस ६ मापदण्ड अनुसारको मोटरसाइकल सार्वजनिक भइसकेको छ भने, नेपाल आएको ६५० ट्वीन बीएस ४ मापदण्डको रहेको छ । नेपाली बजारमा यसमो मूल्य १२ लाख ५० तोकेर बिक्री सुरु गर्ने तयारीमा कम्पनी रहेको थियो ।