एउटै इलेक्ट्रीक कारमा २ करोड मूल्य बढ्ने, मोटर क्षमता अनुसार फरक अन्तःशुल्क
News Desk
May-29 , 2020 तारिख 12:47 बेलुका

काठमाडौं । सरकारले इलेक्ट्रीक सवारीसाधनमा व्यापक करको दरमा परिमार्जन गरेको छ । हिजो सार्वजनिक भएको बजेटले इलेक्ट्रीक कारको भन्सार ८० प्रतिशत कायम गर्दै त्यसमा ५० प्रतिशत छुट दिएको छ भने अन्तःशुल्क मोटर क्षमताको आधारमा लगाउने निर्णय गरेको छ ।

सरकारले यसअघि इलेक्ट्रीक कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत मात्रै सडक दस्तुर लिदै आएको थियो ।

कुन मोटरमा कति अन्तःशुल्क

५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ । त्यस्तै ५० देखि १०० किलोवाटसम्मका मोटर भएका ४० प्रतिशत अन्तःशुल्क र १०० सयदेखि १५० किलोवाटसम्मका कारमा ५० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

त्यसैगरि १५० देखि २०० किलोवाट क्षमता मोटर जडित कारमा ६० प्रतिशत, २०० सयदेखि ३०० किलोवाट सयसम्मका कारमा ७० प्रतिशत र त्यसभन्दा माथिका कारमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ ।

उदाहरणमा हेरौं कति बढ्ला मूल्य

केही महिना अघि नेपालमा ल्याएर १ करोड ५० लाखसम्ममा बिक्री गरेको यो कार ७४ हजार पाउण्ड खरिद मूल्यमा आएको थियो । आजको एक्सचेञ्ज रेट अनुसार यसको खरिद मूल्य १ करोड ९ लाख ५२ हजार हुन्छ ।

सरकारले हिजो ल्याएको बजेट अनुसार यो गाडीमा ८० प्रतिशत भन्सार शुल्क लाग्छ । इलेक्ट्रीक सवारीसाधन भन्दै यसमा ५० प्रतिशत भन्सार छुटको व्यवस्था गरेको छ । यसले ४० प्रतिशत मात्रै भन्सार तिरे पुग्छ । भन्सार शुल्क वापत ४३ लाख ८० हजार ८०० रुपैयाँ पुग्छ ।

उक्त भन्सार शुल्क सहितको रकम १ करोड ५३ लाख ३२ हजार ८०० रुपैयाँमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने छ । यसमा ९१ लाख ९९ हजार ६८० रुपैयाँ अन्तःशुल्क लाग्ने छ । अउडी इट्रोनमा १६५ किलोवाटको मोटर प्रयोग गरिएकाले यसमा अन्तःशुल्क ६० प्रतिशत लागेको हो ।

गाडीको खरिद मूल्यमा भन्सार र अन्तःशुल्क जोड्दा २ करोड ४५ लाख ३२ हजार ४८० रुपैयाँ हुन्छ । उक्त रकममा भ्याट वापतको १३ प्रतिशत ३१ लाख ८९ हजार २२२ रुपैयाँ जोड्दा २ करोड ७७ लाख २१ हजार ७०२ रुपैयाँ हुन आउँछ ।

अझै, यसमा सडक दस्तुरको रुपमा ५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार १३ लाख ८६ हजार ८५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यी सबै रकम जोड्दा २ करोड ९१ लाख ७ हजार ७८७ रुपैयाँ हुन्छ ।

यसमा व्यवसायीले २० प्रतिशत कुल नाफा राखेर बिक्री गरेको खण्डमा पनि यो गाडीको मूल्य ३ करोड ४९ लाख २९ हजार ३४४ रुपैयाँ पर्न आउँछ ।

यसले एउटा अउडीको मूल्य झण्डै २ करोड रुपैयाँले वृद्धि हुने छ ।

Related Post