रोयल इनफिल्डको नयाँ मोडल ‘मेटेर ३५०’ को मूल्य र आधिकारिक तस्बिर बाहिर आयो
News Desk
Apr-28 , 2020 तारिख 07:45 बिहान

काठमाडौं । ५०० सीसी क्षमताको मोटरसाइकलका अधिकांस मोडलको उत्पादन बन्द गरेको रोयल इनफिल्डले बजारमा ल्याउन तयार गरेको ‘मेटेर ३५०’ लकडाउनको कारण पछाडि धकेलिएको छ । अब कम्पनीले लकडाउन अन्त्य भएको केही दिनपछि भारतीय बजारमा सार्वजनिक गर्नेछ । त्यसपछि बिस्तारै नाडा अटो शो २०२० सम्ममा नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

यसैबीच मेटेर ३५० को मूल्य सार्वजनिक भएको छ । कम्पनीले १ लाख ६८ हजार ५०० भारतीय मूल्य तोकेको छ । यो मूल्यमा कम्पनीले एशोसरिज समेत प्रदान गर्ने अनुमान गरिएको छ ।

यसअघि भारतका विभिन्न क्षेत्रमा परिक्षणको क्रममा देखिएको यो मोटरसाइकल निकै प्रतिक्षा गरिएको मोडलमा रहेको छ । कम्पनीले यसमा अधिकांस फिचर थन्डरवर्ड ३५० एक्सबाट लिइएको हो ।

डबल कार्डिल फ्रेममा बनेको यो मोटरसाइकलमा सेमिडिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । रेट्रो स्टाइल राउन्ड टेलल्याम्प, पछाडि ट्वीन सक एब्जर्बर दिइएको छ । अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क दिइएको छ ।

डबल च्यानल एबीएससहित आउने यस मोटरसाइकल चेन ड्राइभ अप्सनमा उपलब्ध हुने छ । यसमा लोअर सेट ह्याण्डलबार दिइएको छ ।

कम्पनीले यसमा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिने छ । उक्त इन्जिनले १९.८ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । यसमा ५ स्पीड गियरबक्स उपलव्ध हुने छ ।