प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालमा आएर फिल्म तथा म्युजिक भिडियोको सुटिङ्ग गर्नेहरुको भिड लाग्ने गरेको छ । अहिले लकडाउनले गर्दा कलिउड बलिउड तथा हलिउड प्रभावित भएका छन् ।
लकडाउन सुरु हुनु अगावै नेपालमा हिन्दी गीतको छायाँकन भएको छ । नेपाली प्राविधिक र केही कलाकारहरु प्रयोग गरि हिन्दी गीतको नेपालमा छायाँकन गरेको हो ।
पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टर अभिनित ’साथिया तेरे बिना’ गीतको नेपालमा छायाँकन गरिएको हो । गीतमा उनीसँगै नेपाली नायिका तथा मोडल रिस्ता बस्नेत पनि देखिएकी छिन् ।
नेपालको पोखरा आसपास छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । छायाँकन सकिएपछी नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यहिँ गीतको छायाँकनको लागि पहिलो पटक नेपाल आएका थिए ।
उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् । गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शक्याले निर्देशन गरेका छन् ।
तात्कालिन समयमा नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाललाई टेवा पुग्ने उदेश्यले भिडियो तयार गरिएको सम्राटले बताए ।