राजनीतिका ‘असुर’ हरू
News Desk
Sep-17 तारिख 11:38 बिहान

काठमाडौँ — राजनीतिक वृत्तमा यति बेला संघीय र प्रदेशसभा निर्वाचनको चर्चा चलिरहेको छ । जनताको जनप्रतिनिधि बनेर शासन सत्ताको बागडोर हात पार्न राजनीतिक दलदेखि स्वतन्त्र भनिएकाहरूको दौडधुप उस्तै छ । यही मेसोमा नाटक ‘असुर’ ले राजनीतिलाई भर्‍याङ बनाएर आफ्नो शक्ति प्रदर्शन गरेका असुररूपी शासकको चरित्र उदांगो पारेको छ ।

ओजस थिएटरको प्रस्तुतिमा रातोपुलस्थित शैली थिएटरमा बुधबारदेखि मञ्चन थालिएको नाटकमा मूलतः समकालीन शासन र सत्ताको चरित्र देख्न सकिन्छ । नाटकले मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तनबाट शासकका रूपमा उदाएकाहरू शासनको बागडोर हात पर्नेबित्तिकै कसरी सर्वहारा वर्गको सपनालाई कुल्चन्छन् भन्ने यथार्थलाई उजागर गरेको छ ।

रवीन दोङको लेखन र विवेक न्यौपाने (घने) को निर्देशनमा बनेको नाटकमा शासक र शासित दुई वर्ग छन् । व्यवस्था फेरिँदै गर्दा शासकको शासनमा कसरी शासित वर्गका सपना, स्वतन्त्रता र जीवनका लय भत्किन्छन् भन्ने तीतो सत्यलाई प्रस्तुत गरिएको छ । जुद्धप्रसाद र नरेन्द्रहरूले शासक वर्ग र भिउसिन, कलावती, चन्द्रे जस्ता पात्रले सर्वहारा वर्गको प्रतिनिधित्व गरेका छन् । जुद्धप्रसाद सिंगो गाउँको प्रतिनिधि हुन् । मुखियाका रूपमा गाउँमा आफ्नो रजगज चलाएका जुद्धप्रसादको सत्तालाई ‘जनयुद्ध’ ले समाप्त गरिदिन्छ । जुद्धप्रसादपछि सत्ताको बागडोर सम्हाल्न उनकै छोरा नरेन्द्र अर्को शासकका रूपमा उदाउँछन् । उनी सर्वहारा वर्गको उत्थानका लागि भनेर सुरु गरिएको ‘जनयुद्ध’ का योद्धा हुन् । जुद्धप्रसाददेखि नरेन्द्रसम्म आइपुग्दा समय फेरिन्छ, सत्ता गाउँदेखि राज्यको तहमा पुग्छ । देशमा गणतन्त्र आउँछ, चुनावदेखि नेता चुनिने विषयमा फरक बहस चल्छ । तर पनि भिउसिन, कलावती, चन्द्रेहरूको हविगत फेरिँदैन । सत्ताको अगाडि उनीहरूको अस्तित्व र अधिकारका कुरा ओझेलमै पर्छन् । नाटकले तिनै सर्वहारा र निमुखा वर्गको विरहलाई गीतैमार्फत बिलौना गर्छ– ‘युग फेरियो, जुग फेरियो फेरिएन मान्छेको रूप ।’

घराना शिक्षित नरेन्द्र र कलावतीबीच प्रेम हुन्छ । प्रेमले पूर्णता नपाउँदै कलावती जुद्धप्रसादकी तेस्री श्रीमती र नरेन्द्रकी सौतेनी आमा बन्छिन् । कलावती कसरी जुद्धप्रसादकी तेस्री श्रीमती बनिन्, यहीँबाट सुरु भएको बाबुछोराबीचको कलह, जुद्धप्रसादको अन्त्य, नरेन्द्रको सन्तान गर्भमा हुर्काइरहेकी कलावतीको अधुरो सपना, शासन र सत्ताले फेरिएको नरेन्द्रको चरित्रलाई नाटकमा देखाइएको छ । नाटकले सुरुवाती दृश्यमै ‘घर–घरको कथा हो’ भनी दर्शकलाई जानकारी गराए पनि विषय र परिवेश भने नयाँ होइन । जुद्धप्रसादको चरित्र र उनको देखिने बाह्य आवरण पनि दर्शकका लागि नौलो नलाग्न सक्छ ।

नाट्य समूहले यसलाई २०५७ देखि ०६२/०६३ सम्मको देशको परिवेश र प्रभावलाई जस्ताको तस्तै देखाउने चेष्टा गरिएको दाबी गरेको छ । यद्यपि जुद्धप्रसादको हुकुमी शासन र जनताको अवस्था हेर्दा पञ्चायतकालको बढी झल्को आउँछ । २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा विशेष गरी स्वतन्त्रताको पक्षमा देखिएको उदारवादलाई नाटकले अलिकति खुम्चाएको देखिन्छ । दसवर्षे ‘जनयुद्ध’ को स्वरूपले ०६२/०६३ पछि पाएको राजनीतिक छनक अनि त्यसैमा जन्मिएकाहरूको वास्तविक चरित्र नरेन्द्रमा देखिन्छ । जो परिवर्तनका लागि आफ्नै अवस्था र बाबुसँग लडे तर अप्रत्यक्ष ढंगमै बाबुकै शासनलाई निरन्तरता दिए । नवीन सोच र परिवर्तनको चाहनामा आएको नेतृत्व शक्ति र सत्ताको उन्मादले फेरि कसरी पुरानै चक्रतिर रुमलिन्छ भन्ने नै नाटकको निचोड हो ।

समकालीन सामाजिक व्यवस्थालाई प्रस्तुत गर्दै त्यसैमा द्वन्द्वकालको दृश्यलार्ई समेत नाटकले जीवन्त देखाउने प्रयास गरेको छ । राजारानीको तस्बिर झुन्डिएको घरको भित्तामा पछिल्ला दृश्यमा कार्ल मार्क्सको तस्बिर देखिन्छ । नाटकमा यसलाई व्यवस्था फेरिएको दरिलो संकेतका रूपमा लिन सकिन्छ । उत्पीडन वर्गको उत्पीडनलाई संगीतका धुनहरूले उठान गरिएका छन् ।

सागर कार्की, केशव सिंह डगुन्ना, विजय सापकोटा, सुचित्रा उप्रेती, नमस्ते दिवाकर घिमिरे, सन्तोषी पौडेल, विशाल परियारलगायत कलाकारको अभिनय रहेको नाटक असोज ८ सम्म मञ्चन हुनेछ 

Related Post