News Desk
सुनसरी — भाद्र १४, २०७७।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोरोना संक्रमणका कारण ४५ मिनेटको फरकमा आमाछोराको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेहरू धरान–१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय सौतेनी छोरा हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पताल
छोराको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा र आमाको साढे ८ बजे मृत्यु भएको हो । उनीहरूलाई भदौ १३ गते बेलुकी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो । अस्पताल ल्याइपुर्याउँदा नै दुवैको अवस्था गम्भीर रहेको प्रवक्ता सापकोटाले बताए । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका छन् । धरान–१७ रेल्वेचोक बस्ने एकै घरका दुई जनाको मृत्यु भएपछि वडामा थप सतर्कता अपनाइएको वडाध्यक्ष मनोज भट्टराईले बताए । उनले भने, ‘मृतकको घरका कोही पनि विदेश गएका थिएनन् । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको चपेटामा उनीहरू परे ।’
(कान्तिपुर दैनिक)