भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
News Desk
Aug-31 , 2020 तारिख 11:17 बिहान

बुटवल — भाद्र १५, २०७७ । 

उपचारका लागि अस्पताल खोज्दा-खोज्दै रुपन्देहीको तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की  ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

भैरहवाको भीम अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन इश्वरी पौडेलले बताए । अस्पतालले भने साँझ ९ बजे मृत घोषणा गरेको थियो । मृतक सुगर र प्रेसरकी बिरामी थिइन् ।

नगरपालिकाका फोकल पर्सन पौडेलका अनुसार ती महिलालाई आइतबार बिहानदेखि श्वासप्रश्वाशमा समस्या आएको थियो । नगरका स्वास्थयकर्मीले आइसीयुमा राख्नुपर्ने बताएपछि नगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालमा सम्पर्क गरेको थियो । अस्पतालमा बेड नभएको बताएपछि घरमै राखिएको थियो । साँझ महिला गल्दै गएपछि सामाजिक विकास मन्त्रालयको समन्वयमा भीम अस्पताल लगिँदै थियो । तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको फोकल पर्सन पौडेलले बताए । अहिले शव भीम अस्पतालमै छ । उनलाई भदौ ११ गते संक्रमण देखिएको थियो । मृतकका घरमा उनीबाहेक अरुमा संक्रमित छैनन् । तिलोत्तमामा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ। यस नगरमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ सय ४४ पुगेको छ । त्यसमध्ये ४४ जना उपचारको क्रममा छन्।

(कान्तिपुर दैनिक)

Related Post