धरानमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि
News Desk
Sep-01 , 2020 तारिख 11:31 बिहान

सुनसरी — भाद्र १६, २०७७। 

धरान उपमहानगरपालिका–११ मा सोमबार बेलुकी मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । मंगलबारेनजिकै मोतीचोक बस्ने ६५ वर्षीय पुरुषको मंगलबार दिउँसो पीसीआर रिपोर्ट आउँदा कोरोना पोजिटिभ देखिएको हो ।

एक सातादेखि ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिए पनि उनी घरैमा बस्दै आएका थिए । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले कोरोनासँग मिल्दोजुल्दो लक्षणले मृत्यु भएको पाइएपछि स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा पीसीआर जाँच गराउँदा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार ती व्यक्ति प्रतिष्ठानकै ल्याबका अवकाशप्राप्त कर्मचारी हुन् । उनले भने, ‘महामारी चलेका बेला स्वास्थ्यसम्बन्धमा जानकार व्यक्ति नै कोरोनाको मिल्दो लक्षण भए पनि घरैमा सामान्य उपचार गरेर बसेका रहेछन् ।’

धरान–११ का वडाध्यक्ष बाबुलाल लामाका अनुसार ती व्यक्तिको मृत्यु हुनुअघि एक मेडिकल सञ्चालकले उनको घरमै पुगेर निमोनियाको आशंकामा रगतसमेत लिएका रहेछन् । ती मेडकल सञ्चालकले मंगलबार बिहानै पनि पसल खोलेर धेरैलाई औषधि बिक्री गरिरहेको पाइएको उनले बताए ।

अब वडा नै सिल गर्ने विषयमा उपमहानगर प्रमुख तिलक राईसँग समन्वय भइरहेको पनि लामाले जानकारी दिए । यससँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

(कान्तिपुर दैनिक)

Related Post