नेकपा र चिनियाँ पार्टीका नेताहरुबीच कोभिड–१९ बारे छलफल
News Desk
Apr-29 , 2020 तारिख 08:21 बेलुका

काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश मामिला विभाग प्रमुख  माधवकुमार नेपालले  कोभिड –१९ का सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसंँग आज भिडियो कन्फरेन्स गरेका छन् । उनीलगायत नेताहरुले कोरोना भाइरसबारे चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभाग प्रमुख सङ ताओसंँग भिडियो कन्फरेन्स गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । छलफलमा नेता नेपालले चीनले कोभिड– १९ को रोकथाम र नियन्त्रण गर्न अपनाएको विधिका सम्बन्धमा कुरा गरेका थिए ।करीब तीन घण्टा भएको छलफलमा नेकपाका वरिष्ठ नेता नेपालसंँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका गण्डकी प्रदेशबाहेकका सबै पार्टी प्रदेश इञ्चार्ज र चिकित्सक तथा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङसँगै प्रा झोङ नान सान, मेडिकल चिकित्सक तथा वैज्ञानिक सहभागिता थिए । बुटवल– नेकपा प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले भिडियो संवादमा आफ्नो प्रदेशमा चार  कोरोना अस्पताल स्थापना गरी  २३० शय्याको व्यवस्था गरिएको र  ४८ अन्य अस्पतालमा ३३५ शय्या कोरोना रोग उपचारका लागि व्यवस्था भएको जानकारी दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।त्यसैगरी प्रदेशमा रहेका अन्य स्वास्थ्य संस्थामा १६ हजार ९७२ शय्या रहेको र ५६४ क्वारेन्टाइन रहेको  मुख्यमन्त्रीले बताए । सूचना प्रविधिमा आधारित स्थानीय तह र प्रदेश सरकारबीच रिपोर्टिङ प्रणालीको व्यवस्थापन गरिएको तथा कोभिड—१९ ट्रयाकिङ मोबाइल एप र ब्ल्युटुथमा आधारित कोरोना ट्रेसिङ एप तयार गरिएको जानकारी पनि उनले दिएको सल्लाहकार केसीले बताए ।

Related Post