काठमाडौंमा समुदायमै फैलियो कोरोना
News Desk
Sep-03 , 2020 तारिख 12:22 बेलुका

काठमाडौं — भाद्र १८, २०७७ । 

अस्पताल तथा उपचारमा कोरोना संक्रमण व्यवस्थापनमा संलग्न विज्ञहरूले काठमाडौं उपत्यकामा समुदायमै कोरोना संक्रमण भइसकेको बताएका छन्। काठमाडौंका विभिन्न ठाउँमा परिवारै संक्रमित हुनु र अस्पतालमा परीक्षण गरेकामध्ये धेरैमा संक्रमण पुष्टि हुनुले कोरोना समुदायमै फैलिसकेको उनीहरूले जनाएका हुन्।

उपत्यकाबाट परीक्षण गर्न शुक्रराज सरुवा रोग अस्पतालमा पुग्ने चार जनामध्ये एकजनामा कोरोना संक्रमण देखिने गरेको अस्पतालले जनाएको छ। अस्पतालले हरेक दिन ३ सय वटा नमुना परीक्षण गर्छ। तीमध्येबाट आइतबार ५७, मंगलबार १ सय ३२ जनामा संक्रमण देखिएको थियो भने बुधबार ६६ जनामा पुष्टि भएको हो। नमुना संख्याअनुसार संक्रमित संख्या प्रति चारजना परीक्षण भएकामध्येमा एकजनामा पोजेटिभ देखिएको अवस्था हो।

ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने र पखाला लाग्नेमध्ये कुनै एक समस्या भएका व्यक्ति, अस्पतालमा शल्यक्रिया गर्ने प्रक्रियामा रहेका, अस्पताल भर्ना प्रक्रियालगायत व्यक्तिमा परीक्षण गर्दा यस्तो परिणाम आउने गरेको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए।

कतिपय परिवारका सबै सदस्य नै संक्रमित हुने गरेको पाइएको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए। उनका अनुसार कतिपय एउटै परिवारका १४ जनामा समेत संक्रमण पाइएको छ।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतका अनुसार काठमाडांैको बूढानीलकण्ठ, टोखा, कपनलगायतका क्षेत्रमा परिवारै संक्रमित भएका छन्। एक सातायता यस्तो तीव्र संक्रमण देखिन थालेको महाशाखाले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।

Related Post