वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न मन्त्रालयको निर्देशन
News Desk
Apr-30 , 2020 तारिख 04:06 बेलुका

टौँडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयलाई कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयले आज प्रदेशका सबै स्थानीय तह र विद्यालयहरूको नाममा सूचना जारी गर्दै रोकिएको नतिजा तत्काल प्रकाशन गर्न निर्देशन दिएको हो ।

नतिजा प्रकाशनपछि बन्दाबन्दीको समयमा सामाजिक दूरी कायम गरी भर्नाको व्यवस्था गर्न पनि भनिएको छ । नतिजा प्रकाशनपश्चात् उपयुक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न पनि विद्यालयलाई आग्रह गरिएको छ । नतिजा प्रकाशनपश्चात् विद्यालयले विद्यार्थीलाई पनि यथासम्भव पाठ्यपुस्तक वितरण गर्न र उपलब्ध गराउन मन्त्रालयले सहयोग गर्ने उल्लेख गरिएको छ ।

बन्दाबन्दीको समयमा विद्यार्थीलाई सूचना प्रविधिका माध्यमबाट घरमै पढ्ने व्यवस्था मिलाउन पनि सूचनामा भनिएको छ । प्रदेश सरकारले वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न भने पनि कतिपय विद्यालयमा वार्षिक परीक्षा पूरा हुन सकेको छैन । यस्तो अवस्थामा यसअघि प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरी नतिजा प्रकाशन गर्न सकिने सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका शिक्षा महाशाखाका प्रमुख दीपेन्द्र सुवेदीले जानकारी दिएका छन् ।

Related Post