काठमाडौँ — भाद्र १६, २०७७।
भारतको सर्वोच्च अदालतले चर्चित अधिकारकर्मी तथा वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनामा भारतीय एक रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र कृष्ण मुरारीको इजलासले सोमबार भूषणलाई उक्त सजाय सुनाएको हो ।
भूषणलाई १५ सेप्टेम्बरसम्ममा उक्त जरिवाना तिर्न अदालतले आदेश दिएको छ ।
अदालतको अवहेलनामा एक रुपैयाँ सजाय सुनाउने भारतको सर्वोच्च अदालतको यो पहिलो निर्णय हो ।
गएको २७ र २९ जुनमा भूषणले दुईओटा ट्वीट गरेका थिए । पहिलो ट्वीटमा भारतको लोकतन्त्रलाई कमजोर बनाउन सर्वोच्च अदालतको र त्यसमा पनि पछिल्ला चारजना प्रधानन्यायाधीशको भूमिका रहेको उल्लेख गरेका थिए ।
अर्को ट्वीटमा हेल्मेट र मास्कबिना नै मोटरसाइकलमा चढेका भारतका प्रधानन्यायाधीशको तस्वीर पोस्ट गरेर आलोचना गरेका थिए ।
यी दुवै ट्वीटलाई लिएर भूषणविरूद्ध सर्वोच्चमा अवहेलनामा मुद्दा चलाइएको थियो ।
१६ अगष्टमा सर्वोच्चले १०८ पृष्ठको आदेश जारी गर्दै भूषणले अदालतको अवहेलना गरेको ठहर गरेको थियो ।
मुद्दाको सुनुवाइमा अदालतले भूषणलाई माफी माग्न भनेपनि उनले माफी नमाग्ने बरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका थिए ।
भारतमा अदालतको अवहेलनामा दोषी पाइने व्यक्तिलाई छ महिनासम्म कैद वा दुई हजार भारतीय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुन छ ।
(एजेन्सी)