News Desk
लण्डन ─ १३ असार २०७९
लण्डन, गैरआवासीय नेपाली संघ बेलायत(एनआरएनए यूके)को विवाद मिलाउन आईसीसीले एक उच्चस्तरिय समिति गठन गरेको छ । संघको आइतवार बसेको पदाधिकारी बैठकले कार्यकारी अध्यक्ष कुल आचार्यको संयोजकत्वमा एक समिति गठन गरेको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए । समितिमा यूकेबाट संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारीहरु तथा युरोप क्षेत्रीय संयोजक(आरसी)द्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटा सदस्य रहने छन् । समितिमा संघका उपाध्यक्षद्धय डा. हेम राज शर्मा र प्रकाश गुरुङ्ग, उपमहासचिवद्धय रामशरण सिमखडा र विनय अधिकारी, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, महिला संयोजक संगिता मरहट्ठा, युरोप उप-संयोजकद्धय दयानिधि सापकोटा र ललित न्यौपाने र आइसीसी सदस्यहरु राजेन्द्र पुडासैनी, दिनेश घिमिरे,महेश अधिकारी, कोश्लेश्वर ढकाल,भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल छन् । यसअघि आइतबार एनआरएनए यूकेको प्रबक्ताको ईमेल आइडीबाट दुई फरक फरक बिज्ञप्तिहरु आएका थिए।
पछिल्लो इमेलमा भनिएको छ – ” मिति २५ जुनमा बसेको एनआरएनए यूकेको बैठक कार्यसमितिका अधिकाँश साथीहरु उपस्थित हुन नसक्ने अवस्था थप अधिराज्यव्यापी रेलवे हडतालका कारण कार्यसमितिका बहुमत साथीहरुकै सल्लाह बमोजिम बैठक स्थगन गरिएको थियो । तथापि बैठकमा कोरम नपुगे पनि अध्यक्षज्यू लगायत समितिका कतिपय बरिष्ठ सदस्यहरु उपस्थित हुनुभएकोले बैठक पूर्ण र औपचारिक नभएर एउटा अनौपचारिक छलफलमा रुपान्तरित भएको थियो ।”
एनआरएनए यूके सचिवालय भनी जारी उक्त बिज्ञप्तिमा अगाडी भनिएको छ – “बैठकमा अधिकांश उपाध्यक्षज्यूहरु साथै महासचिव र कोषाध्यक्ष जस्ता सचिवालयका अन्य बरिष्ठ सदस्यहरु अनुपस्थित रहेकोले विज्ञप्तिमा उल्लिखित जानकारी (जसले सम्प्रेषित गरेको भएपनि) सत्य नभएको जानकारी गराउँदछौं । हिजो कार्यालयमा उपस्थित सचिवालयका उपाध्यक्ष राम चन्द्र पोखरेल र प्रवक्ता भरतमणी चोङबाङसित सम्पर्क गरेर जानकारी लिंदा त्यस्तो कुनै पनि निर्णय भएको सचिवालयलाई जानकारी भएन । त्यसैले आज अघि १४ः३४ बजे सम्प्रेषित विज्ञप्तिलाई औपचारिक र सत्य नठानिदिनुहुन यो सूचना जारी गर्दछौं।”