अर्कबटी खाऊँ कोरोना भगाऊँ — आचार्य गौतम
News Desk
Sep-01 , 2020 तारिख 10:34 बिहान

काठमाडौँ — भाद्र १६, २०७७। 

रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ ।

‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’ –चिकित्सक गौतमले नेपाल समाचारपत्रलाई सोमबार बताउनुभयो ।

गुल्मी जिल्लाको वोलीवाङ हालको चन्दकोट–८ मा २०१९ सालमा जन्म भई विसं २०५० बाट रुपन्देही झर्नुभएका आयुर्वेद आचार्य डा। बद्री गौतम हाल भैरहवाको अन्नपूर्ण टोलमा बस्नुहुन्छ । डा। गौतमले आफू ८५ पुस्ताका रुपमा आयुर्वेदिक जडीबुटीको अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएको बताउनुहुन्छ ।

उहाँले तयार गरेको आयुर्वेदिक औषधी कोरोना पोजेटिभ भएका बिरामीले खाएको ७ दिनमा कोरोना भाइरस मर्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको लास निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने दाबी गर्नुभयो ।

डा। गौतमले तयार गर्नुभएको औषधी आइतबारसम्म १ सय ५३ जना कोरोना पोजेटिभले खाएकोमा १ सय ३८ जनाको रिपोर्ट आएकोमा १ सय ३७ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको समेत बताउनुभयो ।
नेपालमा पाइने पाँच प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी ‘अर्कबटी’ गोली तयार पारिएको गौतमले बताउनुभयो ।

डा। गौतमले चीनको उहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु भएको खबर सुन्नासाथ जडीबुटीबाट आयुर्वेद औषधी निर्माणबारे अध्ययन थालेको बताउनुभयो । २ हजार ५ सय वर्षपहिले ऋषि आत्रेयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गर्नुभएकोे सूत्रानुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडीबुटीलाई कोरोनाविरुद्धको औषधी बन्न सक्ने सोचेर त्यही विधिअनुसार औषधी तयार पारिएको डा. गौतमले बताउनुभएको खबर आजको समाचार पत्रले छापेको छ ।

Related Post