सिमाका विषयमा नेपालमा विकसित घटनाक्रमको निरन्तर निगरानी गरिरहेको जनाउँदै भारतले भन्यो- यसलाई गम्भीरतापूर्वक लिइरहेका छौं
News Desk
May-29 , 2020 तारिख 06:54 बिहान

काठमाडौं, १६ जेठ । भारतले सिमा विवादका विषयमा नेपालमा विकसित घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ । भारतले घटनाक्रमलाई गम्भीरताका साथ लिएको समेत जनाएको छ ।

‘सिमाका विषयमा नेपालमा हालै विकसित अवस्थालाई निरन्तर निगरानी गरिरहेका छौं,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले १५ जेठमा भर्चुयल न्युज ब्रिफिङमा भनेका छन्, ‘हामी यो विषयलाई गम्भीरतापूर्वक लिइरहेका छौं ।’ भारतले छिमेकसँगको सम्बन्धमा आपसी सम्मान, विश्वासको वातावरण र साहसका साथ संलग्न हुने समेत उल्लेख गरेको छ । यी विषयहरुलाई निरन्तरको प्रक्रिया भन्दै रचनात्मक र सकारात्मक प्रयासहरु आवश्यक पर्नेमा जोड दिएको छ ।

भारतले नेपालसँगको निकै महत्वपूर्ण, गहिरो ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्ध समेत उल्लेख गरेको छ । उसले पछिल्लो समय आपसी सहयोगले सम्बन्ध अझ गहिरो भएको जनाएको छ ।

नेपालमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सिमा नक्शा सार्वजनिक गरिएपछि भारतको पछिल्लो भनाई सार्वजनिक भएको हो । यसलाई निर्क अर्थपूर्ण मानिएको छ ।

Related Post